अहिले गाउँ–गाउँमा ट्याक्टरको प्रयोग बढेसँगै परम्परागत हल गोरु पाल्ने चलन हराउँदै गएको छ । खेतबारी जोत्न ट्याक्टर सजिलो र छिटो हुने भएपछि किसानहरूले गोरु पालन गर्न छाडेका छन् । आजभोलि हल गोरु देख्दा नै अचम्म मान्नुपर्ने अवस्था आएको छ ।
कालिञ्चोक गाउँपालिका–६ चाइथलीका तारा बहादुर कार्कीका अनुसार साविकको लापिलाङ गाविस क्षेत्रमा अहिले जम्मा ६ हल गोरु पनि भेटिँदैनन् । “यो पनि मुस्किलले देख्न पाइन्छ,” उहाँ भन्नुहुन्छ, “गोठ–गोठमा गाई, भैँसी र बाख्रा त छन्, तर गोरु देख्नै पाइँदैन ।” साविक लापिलाङका चाइथली, दोर्पा, थाङबारु र गुजर्पा बस्तीमा गोरुको संख्या अत्यन्त न्यून छ, तर ट्याक्टर भने प्रायः प्रत्येक घरमा पुगेका छन् ।
गाउँमा ट्याक्टर भित्रिएको करिब चार वर्ष भएको बताउँदै कार्की भन्नुहुन्छ, “यसअघि अधिकांशका गोठमा हल गोरु हुन्थे ।” तर अहिले स्थानीय सरकारले पनि गोरु पालनलाई भन्दा ट्याक्टर खरिदलाई प्राथमिकता दिँदै अनुदान वितरण गरिरहेको उहाँको गुनासो छ । वडा नम्बर ६ को कार्यालयले ट्याक्टर खरिदमा २१ हजार रुपैयाँ अनुदान दिने गरेको उहाँ बताउनुहुन्छ । “एउटा ट्याक्टर किन्न करिब ४० हजार रुपैयाँ पर्छ । त्यसमा वडा कार्यालयले २१ हजार अनुदान दिन्छ, तर गोरु पालनमा भने कुनै चासो छैन,” कार्कीले भन्नुभयो ।

उहाँका अनुसार एक हल गोरुको मूल्य ७० हजार रुपैयाँभन्दा बढी पर्छ । गोरु जोत्दा एक दिनको ज्याला दुई हजार रुपैयाँसम्म लिने गरिन्छ । “गोरुले जति गहिरो जोत ट्याक्टरले गर्न सक्दैन भन्ने भनाइ छ, तर गोरु जोत्दा ज्यान थाक्दैन, उत्पादन पनि राम्रो हुन्छ,” कार्कीको अनुभव छ । साथै गोरुको मल जैविक मलका रूपमा उपयोगी हुने र एक हल गोरु भए तीन पुस्तासम्म धान्न सकिने उहाँ बताउनुहुन्छ ।
कार्कीका अनुसार ट्याक्टर चलाउँदा शारीरिक थकान बढी हुने, बिग्रिएमा मिस्त्री खोज्नुपर्ने र खर्चिलो हुने समस्या पनि छन् । “म १८ वर्षको उमेरदेखि गोरु जोत्दै आएको मान्छे हुँ । त्यसैले आज पनि मलाई गोरुमै बढी विश्वास लाग्छ,” उहाँ भन्नुहुन्छ । कृषकको समस्यालाई बुझेर आगामी दिनमा हल गोरु पालनमा पनि अनुदानको व्यवस्था गर्ने वडाअध्यक्ष भरत पाण्डे बताउनुभयो । ट्याक्टरमा जस्तै हल गोरु पालनलाई कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम र बजेटको व्यवस्था गर्ने वडाअध्यक्ष पाण्डेले बताउनुभयो ।
ट्याक्टरको बढ्दो प्रयोगले हलो, जुवा, हरिस र हलुरो बनाउने परम्परागत सीपसमेत लोप हुँदै गएको भन्दै कार्कीले चिन्ता व्यक्त गर्नुभयो । प्रविधिसँगै परम्परा हराउँदै जानु दीर्घकालीन रूपमा ग्रामीण कृषि संस्कृतिका लागि चुनौती बन्न सक्ने उहाँको धारणा छ ।