वैतेश्वर गाउँपालिका–३ स्थित कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीय तामाङ तथा थापा समुदायले ४ रोपनीभन्दा बढी जग्गा दान गरेका छन् । विद्यार्थी अभावका कारण विद्यालय नै संकटमा पर्ने अवस्था आएपछि स्थानीय समुदाय एकजुट भएर विद्यालय सञ्चालनलाई निरन्तरता दिने पहल गरेका हुन् ।

विद्यालय रहेको मजुवा क्षेत्रमा विद्यार्थी संख्या घट्दै गएको बेला मिर्गे, चिलाउनेखर्क, जैनालु र पाईले क्षेत्रमा विद्यार्थीको संख्या बढी रहेकाले स्थानीयको पहलमा मिर्गेमा शाखा विद्यालय स्थापना गरिएको हो । यसअघि मिर्गेबाट मजुवासम्म पुग्न विद्यार्थीले कम्तीमा डेढ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो ।

स्थानीयवासीले दान गरेको जग्गामा देवीथान नजिक अस्थायी ट्रस्ट भवन निर्माण गरी बाल विकासदेखि कक्षा ७ सम्मको पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयलाई जोगाउन र साना बालबालिकाको अध्ययनलाई सहज बनाउन समुदाय स्वयं अग्रसर भएको हो । शाखा विद्यालयको उदघाटन वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा तथा वडा अध्यक्ष कमल अधिकारीले संयुक्त रुपमा गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापन गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय मर्ज र बन्द हुने अवस्थासम्म पुग्दा पनि स्थानीय समुदायले देखाएको चासो र योगदान प्रशंसनीय रहेको भन्दै उहाँले जग्गादाताप्रति आभार व्यक्त गर्नुभयो । साथै विद्यालय सञ्चालनका लागि आवश्यक शिक्षक दरबन्दी र अन्य पूर्वाधार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
विद्यालयलाई जग्गा दान गर्नेहरुमा बमबहादुर तामाङ, गंगी तामाङ, माला तामाङ, खेशर तामाङ, दुर्गाबहादुर थापा, भीमशेन थापा, टलक तामाङ, रवि तामाङ, यमबहादुर तामाङ, निकेश तामाङ, रोलिना तामाङ, मनिक तामाङ, भीमबहादुर तामाङ, ढालबहादुर तामाङ लगायत १५ जना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक पुष्कर कुमार दाहालका अनुसार हाल विद्यालयको पुरानो केन्द्र मजुवामा ७३ जना र मिर्गे शाखामा ७६ जना गरी कुल १ सय ४९ जना विद्यार्थी अध्ययनरत छन् ।
तस्बिरः सुवाश बस्नेत