दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा वैशाख ९ गतेदेखि बागमती प्रदेशस्तरीय औद्योगिक मेला आयोजना हुने भएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा १३ दिनसम्म सञ्चालन हुने मेलाले जिल्लाको पर्यटन, कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचार–प्रसारमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
“कृषि, व्यापार, पर्यटन र पूर्वाधार—समृद्ध दोलखा निर्माणको आधार” भन्ने नारासहित आयोजना हुने मेला वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीका अनुसार मेलामा विविध विधाका आकर्षक स्टलहरू रहनेछन् ।
मेलाका प्रमुख आकर्षणहरूमा जिल्लास्थित विभिन्न जातजातिका सांस्कृतिक झाँकी, पञ्चेबाजा, खैंजडी भजन प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समावेश छन् । साथै, जिल्ला स्तरीय अन्तर–विद्यालय नृत्य प्रतियोगिता, रमाइला खेलकुद कार्यक्रम तथा अवलोकनकर्ताका लागि विशेष मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरिनेछन् ।
यसैगरी, दोलखाभित्रका धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका भ्रमण प्याकेजको प्रस्तुति, स्थानीय तथा बागमती प्रदेशभित्र उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी र बिक्री–वितरण पनि मेलाको अर्को विशेषता हुनेछ । जिल्लाका विभिन्न पालिकाबाट उत्कृष्ट कृषि उद्यमीहरूलाई सम्मान गरिनुका साथै विभिन्न विधा र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिने कार्यक्रम समेत तय गरिएको छ ।
दोलखामा पहिलो पटक आयोजना हुन लागेको यस औद्योगिक मेलाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिमा थप ऊर्जा दिने विश्वास आयोजकले व्यक्त गरेका छन् ।