दोलखाको वैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न गरेका विकास निर्माणका काम र सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नागरिकले प्रत्यक्ष रूपमा आफ्ना गुनासा, सुझाव र जिज्ञासा राखेका थिए ।
सुनुवाइमा गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ र कृषि क्षेत्रका योजनाहरूको समीक्षा गरिएको थियो । साथै सेवाग्राहीले प्राप्त गरेका सेवा–सुविधा र त्यसको प्रभावकारिताबारे पनि छलफल भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलका अनुसार सार्वजनिक सुनुवाइमार्फत नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न जनप्रतिनिधि र कर्मचारीले दिएको सेवाको मूल्याङ्कन गरिएको हो । “नागरिकप्रति थप जिम्मेवार र जवाफदेही बन्न गाउँपालिकाले नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ,” उनले बताए ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष कल्पना उप्रेती, वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता श्यामकुमार घिसिङ, वडा नं. ३ का अध्यक्ष कमल अधिकारी, वडा नं. ४ का अध्यक्ष कुमार चौलागाईं र वडा नं. ७ का अध्यक्ष मिनकुमार शिवाकोटीले आ–आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी, नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाका सभापति मनिक तामाङ र नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले पनि कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न भएका प्रमुख योजनाहरू र चालु वर्षभित्रै सम्पन्न गर्न बाँकी रहेका योजनाबारे प्रस्तुति दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार चिरञ्जीवी मास्केले गरेका थिए ।