पाँच वर्ष वडा सदस्य भएर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहेका लोकबहादुर जिरेल अहिले गाउँकै सफल व्यावसायिक कृषकका रूपमा चिनिन थालेका छन् । जिरी नगरपालिका–७, माथिल्लो सिक्रीफेदीका जिरेल यतिबेला खुर्सानीका बिरुवा सार्ने र टनेलमा फलेका गोलभेडा टिप्ने काममा व्यस्त छन् । कुनै समय बैठक, गोष्ठी र जनताका काममा दौडिने उनी अहिले खेतबारीमै पसिना बगाएर आम्दानी गरिरहेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित भएपछि जिरेलको अधिकांश समय जनप्रतिनिधिको जिम्मेवारीमा बित्यो । बैठक, भेला, तालिम र नागरिकका समस्याको समाधानमा व्यस्त रहँदा पाँच वर्षको कार्यकाल कहिले सकियो, उनलाई पत्तै भएन । जनताको सेवा गर्न पाउँदा सन्तुष्टि त थियो, तर आफ्नो भविष्य र जीविकोपार्जनबारे सोच्ने फुर्सद भने कमै मिल्यो ।
कार्यकाल सकिएपछि भने उनको जीवनले नयाँ मोड लियो । पहिलेजस्तो कार्यक्रममा बोलाइने क्रम रोकियो । गाउँमा भएको थोरै जग्गामा मकै, कोदो र आलु खेती गरेर मात्रै परिवार धान्न नसकिने उनले महसुस गरे । आफ्नै बारी हुँदा पनि सागसब्जी बजारबाट किनेर खानुपर्ने अवस्थाले उनलाई झस्कायो । त्यसपछि उनले कृषि व्यवसायलाई नै भविष्यको आधार बनाउने निर्णय गरे ।

२०७९ सालमा उनले औपचारिक रूपमा कृषि फर्म दर्ता गरी व्यावसायिक तरकारी खेती सुरु गरे । सुरुमा ४० रोपनी जग्गामा खेती थालेका उनले माग र सम्भावना बढ्दै गएपछि थप २० रोपनी जग्गा भाडामा लिए । गोलभेडा, खुर्सानी, साग, गाजर, काउली र बन्दाकोपी उत्पादनबाट उनले व्यवसाय विस्तार गर्दै लगे ।
अहिले उनको खेतबारीमा गोलभेडा, खुर्सानी र विभिन्न सागसब्जी प्रशस्त फलेका छन् । गत वर्ष मात्रै उनले करिब ३ हजार केजी गोलभेडा, १० हजार केजी खुर्सानी, ४ हजार केजी साग र १ हजार केजी गाजर बिक्री गरेका थिए । बजार मूल्यका आधारमा उनले वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएका छन् ।
डेढ लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु भएको व्यवसाय आज उनको मुख्य आम्दानीको स्रोत बनेको छ । खेतीको व्यस्त समयमा उनले स्थानीय मजदुरलाई समेत रोजगारी दिने गरेका छन् । सुरुका वर्षहरूमा छ जनाभन्दा बढी कामदार नियमित राख्ने गरेका जिरेल अहिले आवश्यकताअनुसार मौसमी कामदार परिचालन गर्छन् ।
उत्पादन मात्रै होइन, बजार व्यवस्थापनमा पनि उनले ध्यान दिएका छन् । स्थानीय किसानसँग सहकार्य गर्दै लिंकन बजारमा ‘सगुन कृषि तथा पशु उत्पादन फर्म’ मार्फत तरकारी पसल सञ्चालन गरेका छन् । आफ्नै उत्पादन उपभोक्तासम्म पु¥याउने व्यवस्था भएपछि बजारको चिन्ता पनि घटेको छ । काठमाडौमा उनले श्रीमतीलाई तरकारी पसल खोली दिएका छन् । उनले यहाँबाट तरकारी पठाउने र काठमाडौको पसलबाट बेच्ने गरेका छन् ।
उनको गाउँमा १५० भन्दा बढी घरधुरी छन् । अधिकांश परिवारका सदस्य रोजगारीका लागि विदेशिएका छन् । कतिपय घरमा वृद्ध आमाबुबा मात्रै बस्ने अवस्था छ । तर जिरेल भने विदेश जानुभन्दा आफ्नै गाउँमा सम्भावना खोज्नुपर्छ भन्ने विश्वास राख्छन् । त्यही विश्वासले उनलाई कृषि उद्यममा टिकाइरहेको छ ।
उनले दुई वटा गाई पनि पालेका छन् । गाईबाट प्राप्त गोबर मल तरकारी खेतीमा प्रयोग गर्छन् । रासायनिक मलको तुलनामा गोठे मललाई बढी उपयोगी मान्ने जिरेल आफ्नो उत्पादन सकेसम्म प्राङ्गारिक बनाउन प्रयासरत छन् । गोलभेडामा केही मात्रामा रासायनिक मल प्रयोग भए पनि अन्य अधिकांश तरकारी प्राङ्गारिक ढंगले उत्पादन गरिएको उनको दाबी छ ।
कृषि व्यवसाय विस्तारका क्रममा उनले आवश्यक उपकरण र संरचना पनि जुटाएका छन् । टनेल तथा ट्याक्टरजस्ता केही सामग्री गाउँपालिका र वडा कार्यालयको अनुदानबाट प्राप्त गरेका छन् । तरकारीमा रोग वा कीराको समस्या देखिएमा प्राविधिकहरू खेतबारीमै पुगेर परामर्श दिने गरेका छन् ।
लोकबहादुर जिरेल अहिले गाउँका धेरै युवाका लागि प्रेरणाको पात्र बनेका छन् । जनप्रतिनिधिको पद सकिएपछि निराश बन्ने होइन, आफ्नै गाउँको माटोमा सम्भावना खोजेर सफल हुन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
“वडा सदस्य नभएको भए सायद म अहिले पनि सामान्य खेतीमै सीमित हुन्थें होला,” जिरेल भन्छन्, “तर पद सकिएपछि वास्तविक जीवनको आवश्यकता बुझें । अहिले लाग्छ, समयमै तरकारी खेती सुरु गरेको भए अझ धेरै उपलब्धि हासिल गर्न सकिन्थ्यो ।”
गाउँमा श्रम, सीप र दृढ इच्छाशक्ति भए विदेश नगई पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश लोक जिरेलको कृषियात्राले दिएको छ ।