जिरी नगरपालिका–८ थलारीका ठकेन्द्र खत्रीले विदेशको आकर्षण त्यागेर गाउँमै बाख्रा पालन व्यवसायलाई रोजेका छन् । २० हजार रुपैयाँको सामान्य लगानीबाट सुरु गरेको बाख्रा पालन व्यवसाय अहिले उनको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।
२०७४ सालमा ‘उत्तम कृषि तथा पशुपालन फर्म’ दर्ता गरी १५ वटा बाख्राबाट व्यवसाय सुरु गरेका खत्रीसँग अहिले उनको गोठमा ४५ वटा बाख्रा छन् । जमुनापारी, लम्कने र खरी जातका बाख्रा पालिरहेका उनले बाख्रा पालनबाट मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताउँछन् ।

“यही आम्दानीले घरखर्च चलाउन, छोराछोरीको पढाइ खर्च जुटाउन र औषधोपचार गर्न सहज भएको छ,” खत्रीले भने । बाख्रा पालन, खेतीपाती र व्यापारको काम तीन सदस्यीय परिवारले मिलेर गर्दै आएका छन् । बाख्रा पालनबाटै उनले आफ्ना छोराछोरीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनसमेत सफल भएका छन् । तल्लो तहमा अध्ययन गर्ने छोराछोरीलाई गाउँमा र उच्च शिक्षाको लागि काठमाडौ, जिरी बजार पठाएका छन् ।
तर, यो सफलतासम्म पुग्ने यात्रा भने सहज थिएन । आम्दानीको भरपर्दो स्रोत खोज्दै उनले जीवनमा धेरै संघर्ष गरे । सुरुमा निर्माण व्यवसाय (ठेक्कापट्टा) मा हात हाले । गाउँघरमा धेरै धारा, सडक, भवन निर्माण गरे । यसबाट अपेक्षित आम्दानी हुन नसकेपछि गाडी खरिद गरी यातायात व्यवसायमा लागे । लाखौं रुपैयाँ लगानी गरेर किनेको गाडीबाट पनि फाइदाभन्दा घाटा बढी भएपछि त्यो व्यवसाय छाड्नुप¥यो । यातायात व्यवसायी त्यत्ति धेरै समय टिकेन ।
त्यसपछि पुख्र्यौली पेसा मानिने भैँसी पालनमा लागे । १२ वटा भैँसी पालेर दिनरात मेहनत गरे पनि अपेक्षित प्रतिफल पाएनन् । आफूले सोचेजस्तो आम्दानी नभएपछि भैसी पालन व्यावसायबाट हात धोए । लगानी, समय र श्रम सबै खेर गएको अनुभूति भएपछि उनले वैदेशिक रोजगारीलाई विकल्पका रूपमा रोजे ।
तीन लाख रुपैयाँ खर्च गरेर मलेसिया पुगेका खत्रीले त्यहाँ तीन वर्षको भिसा पाएका थिए । तर विदेशको बसाइँ र कमाइले उनलाई सन्तुष्टि दिन सकेन । ऋणको ब्याजसमेत तिर्न मुस्किल पर्ने अवस्था देखेपछि उनले १८ महिनामै स्वदेश फर्किने निर्णय गरे । विदेश जाँदाको ऋण तिर्न त परै जाओस व्याजसमेत तिर्न सकेनन् ।
“विदेशमा दुःख गरेर पनि सोचेजस्तो बचत भएन । बरु आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो,” उनी भन्छन् । स्वदेश फर्किएपछि उनले स्थानीय किसान, अभिभावकहरुसँग परामर्श गरे । थलारी क्षेत्रको भौगोलिक अवस्था र उपलब्ध चरन क्षेत्रलाई हेर्दा बाख्रा पालन उपयुक्त हुने निष्कर्षमा पुगे । त्यसयता उनी यही व्यवसायमा निरन्तर लागिरहेका छन् ।
यद्यपि, कृषि तथा पशुपालन क्षेत्रमा लागेका युवाप्रति स्थानीय सरकारको सहयोग अपेक्षाअनुसार नभएको उनको गुनासो छ । आधुनिक खोर निर्माणका लागि अनुदान, उन्नत जातका बाख्रा तथा बोयर जातका बोका उपलब्ध गराउने व्यवस्था, प्राविधिक परामर्श, नियमित अनुगमन र किसानसँग अन्तरक्रियाजस्ता कार्यक्रमको आवश्यकता रहेको उनी बताउँछन् । यदि स्थानीय सरकारले कृषि, पशुपालनमा क्षेत्रमा लागेका व्यक्तिहरुलाई उत्साह, सहयोग गर्ने हो भने गाउँ रितो नहुने उनको विश्वास छ ।
“युवालाई विदेश जानबाट रोक्ने हो भने कृषि र पशुपालनमा लागेकालाई व्यवहारिक सहयोग दिनुपर्छ,” खत्रीको भनाइ छ । कृषि क्षेत्रमा लाग्न चाहने युवाका लागि स्थानीय सरकारले सहुलियत ऋण, बीमा सुविधा, उत्पादनको बजार व्यवस्थापन, प्राविधिक तालिम, उन्नत जातका पशु वितरण तथा आधुनिक कृषि पूर्वाधार निर्माणमा सहयोग गर्न सके ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने र वैदेशिक पलायन पनि घट्न सक्ने स्थानीयको विश्वास छ ।
संघर्ष, असफलता र वैदेशिक रोजगारीको अनुभवपछि गाउँ फर्केर सुरु गरेको बाख्रा पालन व्यवसायले अहिले ठकेन्द्र खत्रीलाई आत्मनिर्भर मात्र बनाएको छैन, गाउँमै मेहनत गरे सफल हुन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ ।