चरिकोट २९ फागुन
सहकारीको महत्व, आवश्यकता र वचतका फाइदा बारे समुदाय स्तरमा जानकारी दिने उद्धेश्यका साथ आयोजित सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम दोलखाको शैलुङ गाउँपालिकामा शनिवार सम्पन्न भएको छ ।
वैत्यश्वर गाउँपालिका वडा नम्बर ५ काब्रेमा मुख्य कार्यालय रहेको जनसचेतन तथा तथा ऋण सहकारी संस्थाले शैलुङ गाउँपालिका वडा ८ स्थित भैसे र मनगाउँमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाई, पुर्व अध्यक्ष भीम दाहाल, बरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, सविच कमल दाहाल, कोषाध्यक्ष भरत दहाल, सह सविच शिवाराम ढकाल, सञ्चालक सदस्य शेरबहादुर भुजेल र शिक्षा उप समितका प्रविण बस्नेत, पवटी सेवा केन्द्र प्रमुख ताराबहादुर पाण्डे लगायतले सहजीकरण गर्नु भएको थियो ।
सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा सहकारी संस्थाको आवश्यकता र महत्व, सहकारीको सदस्य बन्ने तरिका, जनसचेतन सहकारी संस्थाले प्रदान गर्ने सेवा सुविधा, वचतका फाईदा लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
सहकारी शिक्षा शिविरमा सहकारी संस्थाले २४ प्रकारको बचत र १४ प्रकारको ऋण सुविधा आफ्ना शेयर सदस्यहरुलाई उपलब्ध गराउँदै आएको जानकारी गराईएको थियो । यसै गरी सहकारी संस्थाले शेयर सदस्यहरुलाई १० हजार देखी एक करोड सम्म ऋण उपलब्ध गराउने सो अवसरमा जानकारी गराईएको थियो ।
२७ बर्ष अघि स्थापना भएको र दोलखा जिल्ला भरी कार्यक्षेत्र रहेको जनसचेतन वचत तथा ऋण सहकारी संस्थाले हाल एक अर्ब ८२ करोड रुपैयाँ बरावरको कारोवार गर्दै आएको छ । जिल्लाभर १५ वटा सेवा केन्द्र मार्फत ३२ हजार दुई सय ६५ जना सदस्यहरुलाई सेवा पुर्याउदै आएको छ ।