मेलुङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने पालिकाका रूपमा घोषणा गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ भित्र सञ्चालन गरेको नियमित खोप सुदृढीकरण अभियान सफलतापूर्वक सम्पन्न भएपछि औपचारिक रूपमा पूर्णखोप घोषणा गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईका अनुसार १५ महिनादेखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोपको मात्रा पूरा गरेका छन् । “बालबालिकालाई जन्मेदेखि नै विभिन्न रोगविरुद्धको खोप अनिवार्य हुन्छ । सबै बालबालिकाले तोकिएको खोप पूरा गरेपछि मात्र पूर्णखोप घोषणा गरिन्छ,” उनले बताए ।
गाउँपालिकाभित्र एक वर्षको अवधिमा वडा नं. १ देखि ७ सम्मका ९८ जना बालबालिकाले सबै खोप पूरा गरेका छन् । चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका १२८ जना र १६ महिनादेखि ५९ महिनासम्मका २१६ जना बालबालिका रहेको तथ्यांक स्वास्थ्य शाखाले सार्वजनिक गरेको छ ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई बिसिजी (क्षयरोगविरुद्ध), पेन्टाभ्यालेन्ट (डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी र हेमोफिलस इन्फ्लुएन्जा), पोलियो, दादुरा–रुबेला, जापानी इन्सेफलाइटिस लगायतका खोप निःशुल्क प्रदान गरिन्छ । यी खोपले बालबालिकालाई घातक तथा संक्रामक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पूर्णखोप घोषणा भनेको लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय मापदण्डअनुसारका सबै खोप पाइसकेको सुनिश्चितता हो । यसले बालमृत्युदर घटाउन, महामारीको जोखिम कम गर्न र समुदायमा स्वास्थ्य सुरक्षा बलियो बनाउन मद्दत पु¥याउँछ । साथै, खोपको निरन्तरता र दिगोपनाका लागि नियमित अनुगमन, अभिभावक सचेतना र स्थानीय तहको सक्रियता आवश्यक रहने जनस्वास्थ्य विज्ञहरूको भनाइ छ ।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नारालाई सार्थक बनाउँदै गाउँपालिकाले पूर्णखोप घोषणा गरेको हो । यसअघि दोलखाकै गौरीशंकर गाउँपालिकाले पूर्णखोप घोषणा गरिसकेको छ भने मेलुङ दोस्रो पालिका बनेको छ ।
घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष गायत्री आचार्य, जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढामगर, प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईलगायतले खोप कार्यक्रमको निरन्तरता र प्रभावकारितामा जोड दिएका थिए ।