सार्वजनिक सूचनाको पहुँच नागरिक सम्म सहज ढंगले पुगोस भन्ने उद्धेश्यका साथ सरकारले सूचनाको हक सम्वन्धि कानुन जारी गरेको १३ बर्ष पुगी सक्दा समेत आम सर्वसाधारण नागरिक भने सूचना अधिकारका बारेमा बेखबर रहेको पाईएको छ । सर्वसाधारण नागरिक अझै सुचनाको पहुँचमा नरहेको नागरिक बहस कार्यक्रममा सहभागीले बताएका छन् ।
हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाले कालिञ्चोक सामुदायिक एफएमसँगको सहकार्यमा राष्ट्रिय सुचना दिवसको अवसरमा भर्चुअल माध्यमबाट आयोजना गरेको नागरिक बहसका सहभागीले राष्ट्रिय सुचना दिवस मनाउन थालेको १३ वर्ष भएपनि पत्रकार बाहेकका सर्वसाधारण अझै सुचनाको पहुँचमा नरहेको बताएका हुन् ।
कार्यक्रमका दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय दोलखाका सुचना अधिकारी औलाख बहादुर आलेले जिल्लाका प्रत्येक सरकारी कार्यालयमा सुचना अधिकारी तोकिएको जानकारी दिनु भयो । दोलखाका सञ्चारकर्मी तथा पत्रकारहरु सुचना माग्न कार्यालय आउने गरे पनि आम सर्वसाधारण नागरिकले भने हाल सम्म कुनै पनि किसिमका सुचना माग नगरेको आलेले बताउँनु भयो ।
कार्यक्रमका भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले कार्यालयले स्वत सार्वजनिक गर्नुपर्ने सुचना नगरपालिकाको मोबाईल एप्लिकेशन भीमेश्वर डबली, वेभसाइट र सुचना अधिकारी मार्फत सुचना प्रवाह गर्ने गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार राजेन्द्र मानन्धरले सुचना पत्रकारले मात्रै माग्न पाउँछन् भन्ने गलत बुझाइ आमनागरिकमा परेकाले सार्वजनिक कार्यालयका सुचना सर्वसाधारणले माग्ने नगरेको बताउनु भयो । उहाँले नागरिक आफै सुचना माग्न नजाने, इन्टरनेटको पहँुच आमनागरिकलाई नहुने र मुख्य जिम्मेवारीमा रहेका कर्मचारीलाई सुचना अधिकारीको जिम्मेवारी दिनु लगाएतका कारण आम नागरिक अझै सुचनाको पहँुच बाहिर रहेको बताउनु भयो । दोलखाका स्थानीय तह सहित जिल्लाका सरकारी कार्यालयले सुचना डेस्क नै स्थापना गरि छुट्टै कर्मचारी मार्फत सुचना प्रवाह गर्न पत्रकार मानन्धरको सुझाव थियो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष एवम् मानवअधिकारकर्मी उद्धव प्रसाद पोखरेलले आमनागरिकलाई सुचनाको पहुँचमा पुर्याउन सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो । सरकारी सहित गैरसरकारी कार्यालयले पनि सुचना अधिकारीको व्यवस्था गरि सुचना प्रवाह गर्नुपर्ने उहाँको भनाई थियो ।
२०६४ साल साउन ५ गते सूचनाको हक सम्बन्धि ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखी लागू भएको स्मरणमा राष्ट्रिय सूचना दिवस मनाईन्छ । नेपालको संविधान २०७२ को मौलिक हक अन्र्तगत धारा २७ मा सूचनाको हक सम्बन्धि व्यवस्था गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना हुराडेक नेपाल दोलखाको सँगको सहकार्यमा उत्पादन गरिएको कार्यक्रम नागरिक बहस कालिञ्चोक एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । सो कार्यक्रम शनिबार राति ८ बजे समेत प्रसारण हुने छ ।