दोलखाको वैतेश्वर गाउँपालिका–३, मिर्गेको फलेघर डाँडाटोलमा जन्मिएर हुर्किएका धन बहादुर तामाङका लागि लसुन साधारण तरकारी मात्र होइन, जीवन बदल्ने आधार बनेको छ । यही लसुन खेतीबाट कमाएको पैसाले उनले आफ्ना छोराहरूलाई बिना ऋण वैदेशिक रोजगारीमा पठाउन सफल भएका छन् । आज उनका एक छोरा जापानमा र अर्का छोरा पोर्चुगलमा छन् ।

धन बहादुरका अनुसार जापान पठाउन करिब ११ लाख रुपैयाँ र पोर्चुगल पठाउन करिब ७ लाख रुपैयाँ खर्च भएको थियो । यो सम्पूर्ण रकम उनले आफ्नै खेतबारीमा फलाएको लसुन बेचेर जोहो गरेका हुन् । छोराहरूलाई विदेश पठाउँदा न बैंकको ऋण लिनुप¥यो, न सहकारी र साहुहरुको ढोका धाउनुप¥यो । यही कुरा उनका लागि सबैभन्दा ठूलो उपलब्धि बनेको छ ।
उनले करिब २० वर्षअघि डाँडाटोलमा लसुन खेती सुरु गरेका थिए । सुरुमा जीविकोपार्जनका लागि मात्रै गरिएको खेती समयसँगै व्यवसायिक बन्दै गयो । २०६२ सालतिर लसुन उत्पादन निकै कम हुन्थ्यो र मूल्य पनि सन्तोषजनक थिएन । त्यतिबेला एक धार्नी लसुन ४५ रुपैयाँमै बेच्नुपथ्र्यो । बजारमा व्यापारी नआउने भएकाले डोकोमा लसुन बोकेर बजार खोज्दै हिँड्नुपथ्र्यो । अहिले अवस्था फेरिएको छ । सिजन सुरु हुनासाथ व्यापारीहरू घरमै आईपुग्छन् र एक किलो लसुन २५० रुपैयाँसम्ममा किन्छन् ।

धन बहादुरले एक सिजनमा करिब ५ सय किलो लसुन बेच्ने गरेका छन् । यसबाट वार्षिक ९० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । यही आम्दानीले उनको दैनिकी चलेको छ र छोराहरूको भविष्य निर्माणमा पनि टेवा पुगेको छ । उनका एक छोरा करिब एक वर्षअघि जापान पुगेका हुन् भने अर्का छोरा छ महिनाजति अघि पोर्चुगल पुगेका छन् । अर्को छोरा र छोरी काठमाडौँमै बसोबास गर्दै आएका छन् । अहिले गाउँमा उनी र उनकी श्रीमती मात्रै छन् ।
फलेघर डाँडाटोल अहिले लसुन गाउँकै रूपमा चिनिन थालेको छ । यहाँका प्रायः सबै घरधुरीले लसुन खेती गर्छन् भने करिब ६–७ घरधुरीले व्यवसायिक रूपमा लसुन उत्पादन गर्दै आएका छन् । यस डाँडाटोलमा करिब ३५–४० घरधुरी छन् । सबैले एक–दुईवटा भैँसी पालेका छन् । कोही दूध बेच्छन्, कोही घ्यू । गाउँमा डेरी नहुँदा होटल र व्यक्तिगत ग्राहककै भरमा दूध बिक्री गर्नुपरेको समस्या स्थानीय बताउँछन् ।
धन बहादुर लसुन खेतीमा मात्र सीमित छैनन् । उनी आलु, प्याज, सुन्तला र मौसमी तरकारी पनि उत्पादन गर्छन् । आलु मात्रै २५–३० हजार रुपैयाँ बराबरको बेच्ने गरेका छन् । नजिकैको बजारमा दैनिक ५–६ लिटर दूध बिक्री हुन्छ, जसबाट दैनिक पाँच, छ सय रुपैयाँ आम्दानी हुन्छ । घरमा भैँसी, बाख्रा, खसी र कुखुरा छन्, सबै बिक्रीकै लागि पालेका हुन् । गाईभैँसी, बाख्रा, कुखुराकै मल प्रयोग गरेर तरकारी उत्पादन गर्ने भएकाले यहाँको उत्पादन पूर्ण अर्गानिक मानिन्छ । कतिपय अवस्थामा बीउसमेत आफैँ जोहो गर्छन् । धन बहादुर र उनकी श्रीमतीले नजिकैको २ वटा सहकारीमा दुवैको नाममा खाता खोलेका छन् । दुवैले मासिक चार–चार सय रुपैयाँ नियमित बचत गर्दै आएका छन् । सानो देखिने यो बचत संस्कार नै आज उनीहरूको आर्थिक सुरक्षाको आधार बनेको छ ।

धन बहादुरले कृषि सम्बन्धी कुनै औपचारिक तालिम लिएका छैनन् । तर काम गर्दै सिकेका हुन् । उनी यसअघि १०–१२ वर्ष पर्यटक गाइडको रूपमा काम गरिसकेका व्यक्ति हुन् । एकपटक हेटौँडा भ्रमणमा जाँदा देखेका कृषि अभ्यासहरूले पनि उनलाई धेरै कुरा सिकाएको उनी बताउँछन् । अनुभवकै भरमा खेती गर्दै आएका धन बहादुरलाई अब प्राविधिक सहयोगको आवश्यकता महसुस हुन थालेको छ ।
समय–समयमा जेटिए, भेटेरिनरी चिकित्सक र कृषि प्राविधिकको पहुँच भए उत्पादन अझ बढ्न सक्ने उनको विश्वास छ । तरकारी र फलफूलको बजारको समस्या नभए पनि स्थानीय तहले सिंचाइ, अनुदान र उत्पादित वस्तुको मूल्य ग्यारेन्टी गरे किसानले अझ राम्रो मूल्य पाउने उनको धारणा छ । उनका अनुसार यस क्षेत्रमा तरकारी, फलफूल उत्पादनको आधारमा तुलना गर्ने हो भने कालीमाटी तरकारी बजार सरहनै मान्न सकिन्छ फलेघर डाँडाटोललाई ।
धन बहादुर तामाङ आज मिर्गेका अगुवा कृषकका रूपमा चिनिन्छन् । लसुन खेतीबाट आत्मनिर्भर बनेका उनले गाउँका अन्य किसानलाई पनि प्रेरणा दिएका छन् । उनको जीवनले देखाएको सत्य यही हो—आफ्नै माटोमा पसिना बगाउन सके वैदेशिक रोजगारीका लागि ऋणको भारी बोक्नुपर्दैन । लसुनले धन बहादुरलाई आम्दानी मात्रै होइन, आत्मसम्मान र आत्मविश्वास पनि दिएको छ ।