नेपाली हिमाली भूभागमा पाइने एउटा चञ्चल, लजालु र भिरालो वन्यजन्तु हो घोरल । विशेषगरी मध्यपहाडी र हिमाली भेगका हरियाली चट्टानी क्षेत्रमा पाइने यो जनावर प्रायः मानिसको नजरबाट टाढै रहने गर्छ । मैले वैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइबाट चरिकोट फकिर्ने क्रममा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ बुुस्तीस्थित शिवालय भीर, खोलाको छेउमै, दुईवटा बच्चासहितको घोरल देख्ने दुर्लभ अवसर पाएँ । गाडीबाट प्रभु जिरेलले देख्ने बित्तिकै सुजन काफ्ले, बुना घिमिरे ओर्लेर हामीले फोटो कैद गर्यौ । त्यहाँ एक आमा घोरल घाँस खाँदै थिईन् भने दुई बच्चाहरू मस्ति पाखा चढ्दै थिए । जिल्लामा घोरल देखिएको मेरो व्यक्तिगत धेरै पटकको अनुभव थियो, जुन अत्यन्त रोमाञ्चक र सन्तोषजनक रह्यो ।
घोरलः एक संक्षिप्त परिचय

घोरल एक प्रकारको वन्य जनावर हो जुन बाख्राजस्तै देखिने भए पनि पहाडी भिरालो क्षेत्रमा बस्ने स्वतन्त्र प्रजाति हो । यसलाई नेपालीमा “गोरल“ भनिन्छ भने स्थानीय भाषामा घोरल भनिन्छ । वास्तविक नाम यसको गोरल भएपनि स्थानीय भाषामा झ्याँकु, सिंगटी, लामाबगर, माली र आसपासका तामाङ तथा अन्य स्थानीय समुदायमा “घोरल“ भन्ने प्रचलन धेरै सुनिन्छ । यसलाई बोलचालको भाषामा “घोरल“ भन्ने चलन गलत होइन, तर औपचारिक वा वैज्ञानिक रूपमा भने “गोरल“ नै सही हो । साना तर बलिया खुट्टा, छोटा सिङ, लचिलो शरीर र सादा खैरो रौंले ढाकिएको यो जनावर भिरालो जमिनमा चिप्लिन नदिइ सहजै हिँड्न सक्ने क्षमताको कारण विशेष हुन्छ ।
भौगोलिक फैलावट र बसोबास
घोरलहरू प्रायः एक हजार मिटरदेखि तीन हजार मिटर उचाइसम्मका जंगल र भिरालो क्षेत्रमा पाइन्छन् । नेपाल, भारत, भूटान, म्यानमार र चीनको केही भागसम्म यसको फैलावट छ । नेपालमा पूर्वदेखि पश्चिमसम्मका हिमाली तथा मध्यपहाडी जिल्लाहरूमा घोरल देखिन्छ । यस जिल्लाको हकमा गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने लापिलाङ, कालिन्चोक, विगु, झ्याँकु, भीमेश्वर नगरपालिका–८ बोचका भिरालो पाखाहरू, लामाबगर, सिंगटी, माली–गुम्बा, शैलुङ र आसपासका जङ्गलहरूमा कहिलेकाहीं देखिन्छ । तर, हालै मैले देखेको वैतेश्वर गाउँपालिकाको शिवालय भीर बुस्तीमा भने यसअघि घोरल देखिएको जानकारी स्थानीयले पनि दिएका थिए । नेपालको सन्दर्भमा मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा, भोजपुर, ताप्लेजुङ, हुम्ला, जाजरकोट जस्ता जिल्लाका पहाडी भेगहरूमा बढी पाईन्छ ।
शारीरिक बनावट र व्यवहार
घोरलको शरीर सानोदेखि मध्यम आकारको हुन्छ । वयस्क घोरलको तौल लगभग २५–३५ किलोग्रामसम्म हुन सक्छ । दुवै लिङ्गमा चिलाङ्गा जस्तो छोटो सिङ हुन्छ जसले देखिने बेलामा पहिचान गर्न सजिलो हुन्छ । घोरलहरू लजालु स्वभावका हुन्छन् र सामान्यतः एक्लै वा सानो समूहमा देखिन्छन् । प्रजननकालमा पोथी घोरलहरू बच्चा जन्माएर केही समयसम्म बच्चाहरूसँगै हिँड्ने गर्छन् । घाँस, झारपात, झारू, झाडीका कोमल पातहरू गोरलको आहार हुन् । सामान्यतः बिहान र बेलुकी बढी सक्रिय रहने घोरलले दिनको अधिकांश समय शान्त र सुरक्षित स्थानमा विश्राम गर्ने गर्छ । चरिचरनको क्रममा चपलताका साथ पाखा–भिरमा उफ्रिने क्षमताका कारण घोरललाई “भिरको बाख्रा“ पनि भन्ने गरिन्छ ।
खतरा र संरक्षण स्थिति
आजको मितिमा गोरल अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठनद्वारा “निकट जोखिममा“ सूचीमा राखिएको छ । यसको प्रमुख कारणहरू पनि छन् । बासस्थानको विनाश जस्तैः चुरे, मध्यपहाड र हिमाली भेगका वन फडानी, सडक विस्तार र मानव बसोबासका कारण घोरलको बासस्थान संकुचित हुँदै गएको छ । अवैध सिकार जस्तैः मासु, छाला वा सिङको लागि अवैध सिकार हुने गर्छ । कुकुर आक्रमण जस्तैः डाँडापाखामा छाडा कुकुरले घोरललाई आक्रमण गर्ने गरेका छन् । घाँसदाउरा सङ्कट जस्तैः ग्रामीण क्षेत्रमा मानव चापका कारण घोरललाई आवश्यक शान्त वासस्थान अभाव हुन थालेको छ । त्यस्तै जलविद्युत आयोजनाहरु निर्माण, वन डढेलो, सडक निर्माणको कारणले घोरलको संख्यामा संकट पर्न थालेको हो ।
सरकार तथा संरक्षण निकायहरू
गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत संरक्षण कार्यालयको जिम्मेवारी महत्वपूर्ण छ । उनीहरूले अनुसन्धान, निगरानी र स्थानीय संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समितिहरु, वनजन्तु संरक्षणकर्मीहरु, कानुनी कारवाही तथा समुदायसँग सहकार्यमा आधारित वन्यजन्तु संरक्षणमा सक्रिय भूमिका सबैको आवश्यक छ । जुन जुन पालिकामा यस्ता खालका वन्यजन्तुहरु पाइन्छ जस्तै वैतेश्वर, गौरीशंकर, भीमेश्वर लगायतका पालिकाले आफ्नो क्षेत्रमा पाइने दुर्लभ प्रजातिको वन्यजन्तुको नक्सांकन, जनचेतना कार्यक्रम र गस्ती प्रणाली मजबुत बनाउनु आवश्यक छ । विद्यालयस्तरदेखि स्थानीय समुदायमा वन्यजन्तुप्रति चेतना फैलाउने कार्य पालिकाको सहभागितामा गर्न सकिन्छ । सुरक्षा निकायले पनि चोरी शिकारीलाई नियन्त्रण र कार्वाही गर्न आवश्यक छ ।
स्थानीय बासिन्दा र समुदाय वन उपभोक्ता समूहहरू
घोरल जस्ता जनावर संरक्षणमा स्थानीयको भूमिका नै निर्णायक हुन्छ । स्थानीयवासीहरूले अवैध सिकार वा वन्यजन्तुप्रति हुने आक्रोशलाई नियन्त्रण गरी सहअस्तित्वको भावना फैलाउनु पर्छ । सामुदायिक वन उपभोक्ता समूहहरू गस्ती, सूचना संकलन, घाँसदाउराको व्यवस्थापन र जैविक विविधता संरक्षणमा अगाडि सर्न सक्छन् ।
अन्तमा
मैले देखेको घोरलको त्यो दृश्य केवल एक वन्यजन्तुको दृश्य मात्र थिएन, त्यो जैविक विविधताको धरोहरको साक्षात्कार थियो । त्यो दृश्यले मलाई प्रकृतिप्रतिको जिम्मेवारी सम्झायो । वैतेश्वर गाउँपालिका क्षेत्रमा घोरल देखिनु भनेको त्यो क्षेत्र अझै पनि जैविक विविधताले भरिपूर्ण छ भन्ने संकेत हो । यस्ता जनावरहरूको संरक्षण गर्नु हाम्रो साझा कर्तव्य हो । न केवल राज्यको, न संरक्षणकर्मीको, बरु हाम्रा गाउँ–घरका आम नागरिकको पनि । आज घोरललाई सुरक्षित गर्न सकेमा भविष्यमा हाम्रो सन्तानले पनि यी भिरालो ढिस्कोमा उफ्रँदै हिँड्ने यो अद्भुत जन्तुलाई देख्न पाउनेछन् । नेपालमा हिमाली घोरलको कुल संख्या यकिन रूपमा गणना गरिएको छैन, तर विभिन्न अध्ययन तथा अनुमानहरूमा आधारित भएर यसको संख्या करिब ३,००० देखि ५,००० बीच रहेको अनुमान गरिएको छ ।