दोलखाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमताल घुम्न आउनेको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी दशैं–तिहार विदाको समय भएकाले देशका विभिन्न स्थानबाट युवाहरू च्छोरोल्पा ताल यात्रामा निस्किएका छन् ।

सदरमुकाम चरिकोटबाट करिब पाँच दिनमै ओहोरदोहोर गर्न सकिने भएकाले पछिल्ला वर्षहरूमा युवाहरूबीच यो गन्तव्य लोकप्रिय बन्दै गएको हो । इटहरीबाट आएका समीक्षा कार्कीले भनिन्, “भिडियो र फोटोमा च्छोरोल्पाको धेरै चर्चा भएकोले पहिलो गन्तव्यका रूपमा यहाँ आएको हुँ ।” उनले थपिन्, “प्राकृतिक सौन्दर्य, बाटो र होटलको सुविधा राम्रो भएकाले यो ठाउँ उत्कृष्ट गन्तव्य बन्न सक्छ ।”
वेदिङ र ना गाउँका होटल सञ्चालक दावाछिरी शेर्पाका अनुसार, यस वर्ष दूधकुण्ड, यलुङ बेस क्याम्प र टासीलाप्चा पासमा पनि पर्यटकको भीड देखिएको छ । “केही ठाउँमा बाटोमा साना समस्या छन्, तर विदेशी र युवा पर्यटकको संख्या गत वर्षभन्दा करिब दोब्बर बढेको छ,” उहाँले बताउनुुभयो । उहाँका अनुसार हाल दैनिक ६० जनाभन्दा बढी पर्यटक रोल्वालिङ उपत्यका (च्छोरोल्पा ताल) घुम्न आउने गरेका छन् ।
पर्यटकको सहजता र सुरक्षाका लागि गौरीशंकर गाउँपालिका–९ ले अस्थायी रूपमा अप्ठेरा बाटोहरुमा साँघु (पुल) को व्यवस्था गरेको छ । वडाध्यक्ष ङिमगेली शेर्पाले भन्नुभयो, “यस आर्थिक वर्षमै झोलुङ्गे पुल निर्माण हुने भएकाले हाल बलियो र भरपर्दो साँघु राखिएको छ ।”
उहाँका अनुसार वडाको पहलमा ना गाउँमा नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा ल्याइएको छ, जसले पर्यटकलाई सम्पर्कमा रहन सहजता दिएको छ । वेदिङमा यसअघि नै टेलिकम सेवा विस्तार भइसकेको छ ।